बिर्तामोड–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी खोलेर चुनावमा प्रतिस्पर्धा गर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । राजतन्त्र फर्काउने मन भए पार्टी खोलेर चुनाव लड्न उनले पूर्व राजा शाहलाई चुनौति दिएका हुन् ।
पूर्व राजाको समर्थनमा झापामा हजारौँ राप्रपा कार्यकर्ता र शुभेच्छुक सडकमा उत्रिरहँदा महामन्त्री थापा भने गुल्मीमा आयोजित कार्यक्रममा बोल्दै थिए । पूर्व राजाले जुवाको खालमा च्याँखे थापिरहेको महामन्त्री थापाको टिप्पणी छ ।
‘पूर्वराजाले पनि जुवाको खालमा च्याखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ’, महामन्त्री थापाले भने ।
पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले पूर्व राजालाई आफैँ चुनाव लड्न आग्रह गरेका हुन् ।