बिर्तामोड-कतारकाे अदालतले मृत्युदण्डकाे सजाय सुनाएका झापाकाे कनकाई नगरपालिका-४ का सुवास राउतलाई स्वदेश फर्काइएको छ । पीडित परिवारलाई १५ लाख रुपैयाँ ब्लड मनी तिरेर ३३ वर्षीय राउतलाई नेपाल फर्काइएको हो ।
खाेटाङकाे ऐसेलुखर्कका लामा काजी राईकाे हत्या अभियोगमा राउतलाई कतार अदालतले मृत्युदण्डकाे सजाय सुनाएको थियो । राउत सन् २०२० काे अप्रिल २४ मा जेल परेका थिए ।
तीन वर्ष तीन दिन जेल सजाय भाेगेका राउत १५ दिनअघि स्वदेश फर्किएका हुन् । मृत्युदण्ड सजाय ताेकिएपछि राउत बचाउ अभियान सुरु गरी ब्लड मनी संकलन गरिएको थियो ।
राउतलाई स्वदेश फर्काउन प्रतिनिधि सभा सदस्य एलपी सावाँले अग्रसरता लिँदै व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गरेका थिए । आइतबार राउतलाई बधाई दिँदै सावाँले मृत्युदण्ड पाउनबाट जोगाउन सकिएको भन्दै पुनर्जीवन प्राप्त गरेको बताए ।
देशविदेशमा रहेका नेपाली दाजुभाई तथा सुरुङ्गाबासीको पहलमा राउतलाई स्वदेश फर्काइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।