झापा-झापा गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र चर्च ब्वाइज आमनेसामने हुने भएका छन् । शनिबार झापा ११ लाई हराउँदै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो ।
यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपीएफसँग पराजित भएको थियो । झापा ११ लाई हराएर चर्च ब्वाइजले सशस्त्रसँगको भेट पक्का गरेको हो ।
शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई चर्च व्वाइजले ट्राइब्रेकरमा ४-३ गोल हराएको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि अतिरिक्त १४ मिनेट थपिएको थियो ।
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च व्वाइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनल प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित हुँदै आएको छ ।
झापालाई हराउँदै फाइनलमा प्रवेश गरेको चर्च व्वाइजले कम्तीमा सात लाख रुपैयाँ सुरक्षित गरेको छ । प्रतियोगिताको विजेताले १३ लाख प्राप्त गर्नेछ।