७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

सुन तस्करी प्रकरणमा बोलेपछि कांग्रेस सांसद सुनील शर्मा पक्राउ



झापा– सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई बिहीवार अपरान्ह प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई गल्फुटारस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले समातेको हो ।

संसदमा सांसद शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै बोलेका थिए ।

संसदमा अभिव्यक्ति दिएको भोलिपल्ट सत्तारुढ दलका सांसद शर्मालाई पक्राउ गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता प्रहरीले भने, सांसद शर्मालाई शैक्षिक प्रमाणपत्रको विषयमा अनुसन्धानका लागि समातिएको बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि सांसद शर्मालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मेडिकल व्यवसायीसमेत रहेका सांसद शर्माको ब्याचलर डिग्रीको सर्टिफिकेट नक्कली छ । यो प्रकरणमा प्रहरीले सुनिल शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन् ।

यसअघि, कांग्रेस नेता अजय बाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत उनी पक्राउ परेको बताएका थिए । शिवाकोटीले शर्माको पक्राउबारे सरकारमाथि प्रश्न समेत उठाएका छन् ।

सभामुखको सचिवालयले भन्यो, ‘शर्मा पक्राउ परेको विषय थाहा छैन्’

कांग्रेस सांसद शर्मा पक्राउबारे सभामुख देवराज घिमिरेलाई जानकारी नभएको उनको सचिवालयले जनाएको छ । बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुखसँग अनुमति लिने व्यवस्था भए पनि सांसद शर्मा पक्राउपरे सभामुख बेखबर छन् ।

नेपालको संविधानको धारा १०३ मा संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन भन्ने उल्लेख छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ४ : ३६ बजे