१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘जसरी पनि कृषिथोक बजारमा तरकारी तथा फलफूलको विषादी जाँचिनु पर्छ’



बिर्तामोड-उपभोक्ता जागरण अभियानले झापा बिर्तामोडको कृषिथोक बजारमा अविलम्व विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन सरोकारवालासँग माग गरेको छ ।

अभियानका सचिव विशाल थापाले बुधवार साँझ स्पीक कर्नरसँग कुरा गर्दै विषादीको अवशेष जाँचविना कुनै पनि तरकारी तथा फलफूल बजारमा बेचिनु नहुने बताउनु भयो ।

अभियानले मंगलवार कृषिथोक बजार अनुगमन गर्दा त्यहाँ पाँचवर्ष अगाडि स्थापित विषादी अवशेष परीक्षण प्रयोगशाला सातादेखि बन्द रहेको खुलेको थियो ।

‘उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले परीक्षण प्रयोगशाला कुनै पनि हालतमा सञ्चालनमा ल्याइनु पर्छ भन्नेमा हाम्रो जोड छ’ सचिव थापाले भन्नुभयो ।

आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार गम्भीर र संवेदनशील बन्न नसकेको थापाको धारणा छ ।

फलफूल तथा तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र बिक्री गर्न पाइने व्यवस्था भए पनि कृषिथोकको प्रयोगशाला नियमित सञ्चालन हुन सकिरहेको छैन् ।

परीक्षणका लागि चाहिने रिएजेन्टको उपलब्धतामा हुने अवरोधले जाँच प्रक्रिया प्रभावित हुँदै आएको छ । प्रयोगशालामा संघीय सरकारका दुई र स्थानीय सरकारका थप दुई गरी चार जना कर्मचारी कार्यरत छन् ।

भारतबाट आयातित र स्थानीय उत्पादनको समेत विषादी अवशेष जाँच गरेर मात्र तरकारी तथा फलफूल बेचिनु पर्ने अभियानको माग छ ।

अभियानले बुधवार मेची भन्सार परिसरमा रहेको विषादी जाँच प्रयोगशालाको समेत अवलोकन गरेको सचिव थापाले जानकारी दिनुभयो । अभियानले संघीय सरकारको समेत ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ००:००  १० : २६ बजे