बिर्तामोड-पूर्व सूचनाविना सदस्यको खाताबाट ‘सदस्य कल्याणकारी कोष’ मा रकम तानिएको विषय विवादको घेरामा परेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले पूर्व लक्षित योजना स्थगित गरेको छ ।
सोमवार नेपाल बहुउद्देश्यीयले आफ्ना सदस्यको खाताबाट प्रति सदस्य सातसय रुपैयाँका दरले ‘सदस्य कल्याणकारी कोष’ मा रकम तानेको थियो । तर, सदस्य, शुभचिन्तक र सामाजिक सञ्जाल प्रयोगकर्ताले एनएमसीको यो निर्णयप्रति असहमति जनाएका थिए ।
सामाजिक रुपमा चर्काे दवावको सामना गर्नुपरेपछि एनएमसीले यस विषयमा सदस्यलाई बुझाउन नसकिएको जनाउँदै तत्कालका लागि ‘सदस्य कल्याणकारी कोष’ सम्वन्धी कार्य अगाडि नबढाउने निर्णय गरेको छ ।
एनएमसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सदस्यसँग आवश्यक छलफल, अन्तरक्रिया र परामर्श पछाडि मात्रै ‘सदस्य कल्याणकारी कोष’ सम्वन्धी योजना अगाडि बढाइने जनाएका छन् ।
सदस्यको बृहत्तर हितमा अगाडि सारिएको योजना हुँदाहुँदै पनि चौतर्फी विवाद र आलोचनापछि सदस्यको खाताबाट तानिएको रकम मंगलवार साँझ एनएमसीले फिर्ता गरेको छ ।