झापा-तिहारमा डेढ अर्ब रूपैयाँ बराबरको भाइ मसला आयात भएको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने मसलालाई भाइ मसला भनिन्छ ।
भाइटीकामा दिदीबहिनीहरूले आफ्नो दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएपछि सगुनका रूपमा नरिवल, काजु, बदाम, ओखर, किसमिस, छोकडा लगायतका भाइ मसला दिने चलन छ ।
चालु आर्थिक वर्षमा गत वर्षको भन्दा भाइ मसला आयात बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५० करोड ३४ लाख ७१ हजार रूपैयाँको भाइ मसला आयात भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १५ करोड ६ लाख ५७ हजार रूपैयाँको भाइ मसला आयात भएको थियो । यो गत वर्षको तुलनामा ३४ करोड रूपैयाँ बढी हो ।