१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

चार गुणाले बढ्यो झापामा आत्महत्या गर्ने महिलाको संख्या



बिर्तामोड-शिक्षित र सचेतहरुको जिल्ला भनिए पनि झापामा आत्महत्या गर्नेको संख्या अनपेक्षित छ । पछिल्लो तीन वर्षको प्रहरी तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने अधिक आत्महत्या गर्ने जिल्लाको रुपमा झापा सूचीकृत हुनसक्छ ।

प्रहरी अधिकारीहरु झापामा आत्महत्या गर्नेको संख्या अत्याधिक भएको बताउँछन् । २०७७ देखि २०८० भदौ २३ गतेसम्म झापामा ९९९ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षमा मात्रै नौ महिलासहित ३४ जनाले आत्महत्या गरेको झापा प्रहरीको तथ्याङ्क छ । गएको तीन आर्थिक वर्षमा ९६५ जनाले आत्महत्या गरेको देखिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

त्रिवर्षीय आत्महत्याका घटनामा महिलाको संख्या २५४ छ । तर, २०७७ को तुलनामा २०७९ मा भने आत्महत्या गर्ने महिलाको संख्या चार गुणाले बढेको छ । महिलाको आत्महत्या दर बढ्नुलाई मनोविद्हरु आर्थिक सामाजिक कारणका रुपमा औल्याउँछन् ।

आर्थिक वर्ष २०७७–७८ मा झापामा आत्महत्या गर्ने महिलाको संख्या ३३ थियो । २०७८–७९ मा यो संख्या झण्डै तेब्बरले वृद्धि भयो, अर्थात ९२ जना महिलाले आत्महत्या गरे । २०७९–८० मा आइपुग्दा आत्महत्या गर्ने महिलाको संख्या अझै बढेर गयो ।

२०७९–८० मा झापामा १२९ जना महिलाले आत्महत्या गरे । त्यसमा नौ जना महिलाले विष सेवन गरेर मृत्युको बाटो रोजे भने बाँकी १२० जनाले झुण्डिएर इहलीला समाप्त पारे ।

प्रहरीका अनुसार झापामा सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गर्नेको संख्या छ । २०७७ देखि हालसम्म ९१९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । बाँकीले विष सेवन गरेका हुन् ।

गोली हानेर एक जनाले र छ जनाले धारिलो हतियार प्रयोग गरी आत्महत्या गरेको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ९ : २९ बजे