१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मासिक शुल्क असुलीका लागि निजी विद्यालयको ‘अमानवीय’ हर्कत



झापा-नियमित मासिक शुल्क नबुझाएको भन्दै निजी विद्यालयले विद्यार्थीलाई मानसिक यातना दिने गरेका छन् । टेस्ट वा परीक्षामा एडमिट कार्ड नदिने बहानामा कक्षा कोठाबाट केहीबेर बाहिर निकाल्ने, हप्कीदप्की गर्ने लगायतका घटना पटकपटक बाहिरिने गरेका छन् ।

विद्यार्थीलाई मानसिकरुपमा दवाव दिन सकियो भने मात्र अभिभावकले शुल्क बुझाउँछन् भन्ने मानसिकता निजी विद्यालय सञ्चालकको छ । अर्कातिर, सरकारले तोके अनुसार निशुल्क पढाउनु पर्ने कोटामा निजी विद्यालयले गर्दै आएको ढाँटछल खोजीको विषय भएको छ ।

पछिल्लो पटक सिराहामा एउटा निजी विद्यालयले विद्यार्थीमाथि गरेको एउटा अमानवीय हर्कतको घटना सार्वजनिक भएको छ । लहान नगरपालिकाका–४ स्थित पाराडाइज एकेडेमीले विद्यार्थीलाई बन्धक बनाएर शुल्क असुलीका लागि अमर्यादित हर्कत गरेको हो ।

बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ । कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालक समेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए ।

छोरा सचिनलाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए । डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर बालकको उद्धार गरेका हुन् ।

प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा लिएको छ । डीएसपी भट्टले विद्यार्थीलाई उद्धार गरेको र अनुसन्धानका लागि तीनजनालाई कार्यालयमा ल्याएको बताए ।

बोर्डिङ सञ्चालक गुप्ता पक्राउ परेलगत्तै निजी विद्यालयका सञ्चालकहरूले छुटाउनका लागि प्रहरीलाई दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ००:००  ८ : ३९ बजे