बिर्तामोड-नेपाल ट्रेड युनियन काङ्ग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले चिया श्रमिकको ज्यालाका विषयमा सहमति भए पनि अरु दुई मुख्य मागका विषयमा सहमति नभए चिया क्षेत्रमा फेरि आन्दोलन हुने बताएका छन् ।
श्रमिकले राखेका चारवटा मागमध्ये दुईवटा माग सम्वोधन गर्न रोजगारदाता चिया उद्योगी सहमत भएका थिए । सरकारले तोके अनुसार चिया श्रमिकलाई दैनिक ज्याला दिने र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने सहमति भएको छ ।
तर, श्रमिकलाई नियुक्तिपत्र दिएर मात्र काममा लगाउने विषयमा भने उद्योगीले सहमति जनाएका छैनन् । रोजगार सम्झौता विना काम गर्न नसकिने विषयमा उद्योगीलाई प्रष्टसँग भनेको अध्यक्ष अधिकारी बताउँछन् ।
रोजगार सम्झौता र पत्ती डवलीको मागका विषयमा चिया उद्योगीले भदौ २८ सम्मको समय मागेका छन् । बाँकी रहेका मागका विषयमा उद्योगी सहमत हुनुको विकल्प नभएको अध्यक्ष अधिकारीले बताए ।
अहिले चिया बगानमा काम गर्ने श्रमिकले आठ घण्टामा ३२ किलोसम्म पत्ती टिप्नु पर्छ । तोकिएको लक्ष्य भन्दामाथि हरियो पत्ती टिप्ने श्रमिकले प्रतिकिलो २.५० पैसा अतिरिक्त रकम पाउँछन् । यो रकम बढाउनु पर्ने ट्रेड युनियनको माग छ ।
‘पत्ती डवली गर्नु पर्छ भन्ने हाम्रो माग हो’, अध्यक्ष अधिकारीले भने, ‘यो रकम नबढेको एकदशक हुनै लाग्यो ।’
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका अध्यक्ष सन्तकुमार राई भने चारवटै मागमा सहमति नभएसम्म आन्दोलन रोक्न नहुने पक्षमा थिए । उनी चिया उद्योगीसँगको वार्ता बहिष्कार गरेर हिँडेको बताउँछन् ।
‘हाम्रा चारवटै मागका विषयमा सहमति हुनुपर्छ भन्नेमा मेरो प्रष्ट अडान छ’, अध्यक्ष राईले भने, ‘मलाई चित्त नबुझेपछि वार्तास्थलबाट बाहिरिएको हुँ ।’ उनले आन्दोलन फिर्ता नभई तत्कालका लागि स्थगित मात्र भएको बताए ।