१ असार २०८२, आइतबार | Sun Jun 15 2025

झापा गाेल्डकप : रेफ्री, व्यवस्थापक तथा अफिसियलको बीमा



बिर्तामोड-झापा गोल्ड कपले खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलको बीमा गरेको छ ।आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

गोल्डकप र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौँबीच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
खेलाडी, रेफ्री, अफिसियल, प्राविधिक र स्वयमसेवकलाई हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी झापा गोल्ड कपले दुर्घटना बीमा गरेको हो ।

सम्झौतापत्रमा नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल र गोल्ड कपका अध्यक्ष बस्नेतले हस्ताक्षर गरेका छन् ।

अधिकृत पोखरेलका अनुसार खेल अवधिभर रंगशालाभित्र खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुमध्ये कसैको दुर्घटना भएमा उपचार खर्च एक लाख रुपैयाँ र मृत्यु भएमा मृतकलाई कम्पनीले सात लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

सम्झौता पत्रमा कम्पनीका विभागीय प्रमुख अनल राउत र गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेल साक्षीका रुपमा रहेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  २ : ३० बजे