१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

बिर्तामोड नगरपालिकाद्वारा सार्वजनिक सुनुवाई आयोजना



झापा–बिर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । वडा नम्बर १ को सभाहलमा आज वडा नम्बर १,२ र ५ को आर्थिक वर्ष २०८०–८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई भएको हो ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाई र नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले सहभागीहरुका प्रश्नको जवाफ दिएका छन् ।

सहभागीहरुले वीमाको औषधि अभाव, बजारमा बिना दर्ताको व्यवसाय सञ्चालन, इन्टरनेटका अव्यवस्थित तार, फोहोर व्यवस्थापन लगायत विभिन्न टोल विकास संस्थाका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले फोहोर व्यवस्थापनका लागि सबैले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेकी छन् । नगर प्रमुख प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरको शिक्षा क्षेत्रमा धेरै परिवर्तन आएको बताइन् । नीजि विद्यालयको तुलनामा पछि परेको सरकारी विद्यालयमा अहिले गर्वका साथ पढ्न जान, पठाउन सकिने अवस्था सृजना भएको मेयर प्रसाईको धारणा छ ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सरकारले गाउँपालिका र नगरपालिकामा जनसंख्याको हिसाबमा औषधि वितरण नगरी एउटै दरमा औषधि पठाउने भएका कारण बिर्तामोडमा निशुल्क औषधिको अभाव हुने गरेको बताए । उनले अभाव भएको औषधि नगरपालिकाले खरिद गर्न पाउने अधिकार समेत नभएकोले कानूनी समस्या रहेको जानकारी दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण झापा युनेस्को संघ नेपालका विजय तिम्सिनाले गरेका थिए । कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ००:००  ८ : १० बजे