१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

कैदीबन्दीको आन्दोलनले राेकियाे भाई नाइकेको सरुवा : निशानामा परे नाइके र पूर्व भाई नाइके



भद्रपुर-कैदीबन्दीको सरुवा प्रकरणमा तनाव व्यहाेरेकाे झापा कारागारले अन्ततः आइतबार कारागारका नाइके र पूर्व भाई नाइकेलाई सरुवा गरेको छ ।

कारागार व्यवस्था विभागको निर्देशन अनुसार झापा कारागारले नाइके लयप्रसाद सिवाकोटी र पूर्व भाई नाइके पासाङ शेर्पालाई अन्यत्र सरुवा गरिएको हाे ।

सिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रिय कारागार काठमाडौँ सरुवा गरिएको झापा कारागारका प्रमुख मोहनलाल पनेरुले जानकारी दिए ।

कारागार प्रशासनले भाई नाइके मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्न लागेको विरोधमा कैदीबन्दी आन्दोलित भएका थिए ‌।

कैदीबन्दीको आन्दोलनका कारण दुई दिनअघि तनावग्रस्त बनेको झापा कारागारले पूर्ववत् आफ्नो निर्णय सच्याउँदै सिवाकोटी र शेर्पालाई सरुवा गरेको हो ‌।

कैदीबन्दीको आन्दोलनको झड्काले स्थानीय प्रशासन लावतीको सरुवा गर्ने निर्णयबाट पछाडि हटेको छ । के कारण लावतीलाई सरुवा गर्न लागिएको थियो भन्ने विषयमा कारागार प्रशासन अझै स्पष्ट छैन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार ००:००  ९ : १६ बजे