बिर्तामोड-कोरियन भाषा शिक्षण अभ्यासका लागि झापाको बिर्तामोडस्थित भद्रपुररोडमा बुसान सिटी कोरियन भाषा प्रशिक्षण केन्द्र स्थापना भएको छ । केन्द्रको बिहीवार कोसी प्रदेश सभाका सदस्य एकराज कार्कीले उद्घाटन गरेका छन् ।
कोरिया जान चाहने युवालाई लक्षित गरेर प्रशिक्षण केन्द्र स्थापना भएको हो । नेपाल र कोरिया सरकारबीच भएको समझदारी अनुसार जीटुजी प्रक्रियाका आधारमा नेपाली श्रमिक कोरिया जाने गर्छन् ।
भाषिक दक्षता हासिल गरेका श्रमिकले मात्रै कोरिया जाने अवसर पाउँदै आएका छन् । उनीहरुको सीप तथा क्षमता विकासमा सघाउने उद्देश्यले भाषा प्रशिक्षण केन्द्र स्थापना गरिएको सञ्चालक दिलकुमार राईले बताए ।
राई आफैँ छ वर्ष कोरिया बसेर नेपाल फर्किएका हुन् । त्यसयता उनले भाषा प्रशिक्षण दिँदै आएका छन् । बुसान कोरियाको दोस्रो प्रसिद्ध सिटी हो । त्यसकै नाममा राईले प्रशिक्षण केन्द्र खोलेका हुन् ।
‘कोरियन भाषाको महत्व बढ्दै गएको छ’, केन्द्रको उद्घाटनका अवसरमा सञ्चालक राईले भने, ‘भाषा सिकेर कोरिया जान पाइएन भने पनि नेपाल आएका कोरियन पर्यटकलाई घुमाएर दोभाषेका रुपमा युवाहरुले काम गर्न सक्छन् ।’
प्रदेशसभा सदस्य कार्कीले नेपालमा रोजगारीका पर्याप्त अवसर सिर्जना नहुँदा युवाहरु विदेशिन बाध्य भएको बताउँदै भाषिक दक्षता भएका युवाले सहजरुपमा रोजगारी पाउने बताए ।
कार्यक्रममा बिर्तामोड–७ का वडाध्यक्ष अविरलकृष्ण खरेल, भाषा प्रशिक्षक गोविन्द दाहाल, स्थानीय युवा सरोज न्यौपाने लगायतले बोलेका थिए ।


















