१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चिया विकास निगम मातहतका श्रमिकको दैनिक ज्याला पाँचसय



झापा-नेपाल चिया विकास निगम अन्तरगतका चिया श्रमिकले सरकारले तोकेको ज्याला पाउने भएका छन् । निगम मातहतका सातवटा चिया बगानका श्रमिकले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका हुन् ।

बगानमा कार्यरत स्थायी मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेत लगिने निर्णयसहित पारिश्रमिक वृद्धि गरिएको निगमका प्रशासन प्रमुख लोकनाथ दंगालले बताए ।

चिया श्रमिकको झन्डै डेढ महिना लामो आन्दोलनपछि निगमले शुक्रबार श्रमिकसँग सहमति गरेको हो । निगम अन्तर्गत झापामा तीन र इलाममा चार गरी सातवटा बगान छन् । जसमध्ये ६ वटा बगानमा करिब चार सय स्थायी श्रमिक छन् ।

सरकारी जग्गामा रहेका यी सात बगानमा ६५ प्रतिशत निजी क्षेत्र र ३५ प्रतिशत सरकारको स्वामित्व छ ।

श्रमिकको आन्दोलनपछि ३२ साउनमा सरकारले राजपत्रमा प्रकाशित गर्दै चिया क्षेत्रका श्रमिकको पारिश्रमिक बढाएर दैनिक पाँच सय रुपैयाँ पुर्‍याएको थियो । यसअघि उनीहरुले दैनिक चार सय ३५ रुपैयाँ पाउँदै आएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ९ : ०३ बजे