बिर्तामोड-बिर्तामोड नगरपालिकाले कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न निर्देशन दिएको छ । नगरको फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।
स्रोतमा नै फोहोर वर्गीकरण गर्ने नीति नगरपालिकाले लिएको हो । यसलाई अभियानका रुपमा अगाडि बढाइने नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् । फोहोर व्यवस्थापनको दीगो नीति अनुरुप कुहिने फोहोरबाट वायोग्यास उत्पादन गर्न थालिएको छ ।
कनकाई बिर्ताअर्जुन नवीकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमार्फत वायोग्यास उत्पादन सुरु भएको हो । अहिले बिर्तामोडले कुहिने फोहोर प्रशोधनका लागि पठाइरहेको छ ।
वडा तहबाट फोहोरको वर्गीकरण गर्ने विषयमा वडाध्यक्षले पनि चासो देखाएका छन् । टोल विकास संस्था समेतको सहभागितामा कुहिने र नकुहिने फोहोर छुट्याउन लागिएको हो ।
सरसफाई कार्ड अनिवार्य गर्ने, सडक तथा सार्वजनिकस्थलमा फोहोर फ्याँक्नेहरुमाथि टोल विकास समितिमार्फत निगरानी बढाउने र दण्ड जरिवाना गर्ने नगरपालिकाको निर्णय छ ।
नगर प्रमुख प्रसाईले नकुहिने फोहोर व्यवस्थापनको लागि पनि काम अघि र यसबाट पेवर्स लगायतका सामाग्री उत्पादन गर्ने बताइन् ।