८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

अर्जुनधारा जलेश्वरधाम : छिटो दर्शन गर्न चाहने भक्तजनका लागि २०० रुपैयाँ



बिर्तामोड– झापाको अर्जुनधारा जलेश्वर धामले यसवर्षदेखि श्रावणी पर्वको अवसरमा छिटो दर्शन गर्न चाहने भक्तजनका लागि सशुल्क व्यवस्था गरेको छ ।

लामो लाइनमा बस्न नचाहनेहरुका लागि धाम व्यवस्थापन समितिले सशुल्क मन्दिर दर्शनको व्यवस्था गरेको हो । त्यसका लागि भक्तजनले दुई सय रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको धामका अध्यक्ष नवीन गट्टानीले बताए ।

कतिपयले भने अर्जुनधारा धामको यो निर्णयको चर्काे आलोचना गरेका छन् । पैसा लिएर दर्शन गराउन सुरु गरिएको भन्दै धामको निर्णय विवादको घेरामा तानिएको हो ।

तर, धाम समितिका अध्यक्ष गट्टानी यसलाई विवादको विषय बनाइनु नहुने बताउँछन् । ‘धामले दर्शनार्थीको चापलाई हेरेर यो व्यवस्था गरेको हो’, अध्यक्ष गट्टानीले भने, ‘टाढाबाट आएका भक्तजन, कार्यालयमा काम गर्ने कर्मचारी, व्यवसायी लगायतले यो सुविधा लिनसक्छन् ।’

साउन महिनाको पहिलो सोमवार १५० जना भन्दाबढी दर्शनार्थीले दुई सय रुपैयाँ तिरेर मन्दिर दर्शन गरेका छन् । सामूहिक पूजाको पाँच सय रुपैयाँ समेत गरेर एकैदिन ३१ हजार रुपैयाँ संकलन भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार ००:००  ८ : १३ बजे