७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

कोसीमा बजेट ‘होलिडे’ : प्रदेश सरकारलाई खर्च जुटाउने चिन्ता



काठमाडौँ– सत्ता राजनीतिले गिजोलिँदै गरेको कोशी प्रदेश सरकारलाई खर्च जुटाउने चिन्ता थपिएको छ । यसअघि गत १४ असारमा एमाले नेतृत्वको प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट ६० दिनभित्र अनुमोदन नहुँदा बजेट होलिडे सुरु भएको हो ।

एमाले सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्ने विधेयक दर्ता नहुनु र संसद् बैठक नचलेकै कारण अध्यादेश बजेट अनुमोदन नहुँदा प्रदेशमा बजेट होलिडे सुरु भएको हो ।

दुई–दुईपल्ट प्रदेश सरकारको नेतृत्वमा पुगेका उद्धव थापालाई सर्वोच्च अदालतले पछिल्लो समय मुख्यमन्त्री हुँदा संविधानअनुसार विश्वासको मत लिए÷नलिएको विषयमा महत्त्वपूण निर्णय गर्न रोक लगाएकै कारण हाल प्रदेशसभा बैठक बस्न सकेको छैन् ।

अध्यादेशबाट ल्याइएको बजेट ६० दिनभित्र अनुमोदन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, सरकारले न उक्त अध्यादेश अनुमोदन गरायो, न त प्रतिस्थापन विधेयक नै ल्यायो । सोही कारण प्रदेशसभामा होलिडे सुरु भएको हो ।

कोशीमा बजेट होलिडे सुरु भएपछि प्रमुख प्रतिपक्षी एमाले अदालत जाने भएको छ । आफूले ल्याएको अध्यादेश बजेटलाई अनुमोदन गराउनुपर्ने एमाले माग छ ।

प्रदेशमा बजेट होलिडे हुँदा सरकारको खर्चपानी, कर्मचारीको तलब भत्तासमेत रोकिनेछ । प्रदेशमा बजेट होलिडे सुरु भएपछि कांग्रेस नेतृत्वको थापा सरकारलाई संकट देखिन अवस्था आएको हो ।

पहिलो पटक सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्ति लिएको र दोस्रो पटक प्रदेशको अध्यक्षता गर्ने व्यक्तिको समेत विश्वासको मत लिएको भन्दै उनी पछिल्लो समय निरन्तर विवादमा छन् ।

सुरुमा २१ असारमा मुख्यमन्त्रीमा नियुक्ति लिएका थापा ११ साउनमा पदमुक्त भएका थिए । त्यसपछि पुनः १६ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पछिल्लो समय सर्वोच्चको आदेशपछि थापा सरकार ८ भदौदेखि काम चलाउको हैसियतमा छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  १० : २१ बजे