१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

साहित्य चौतारी झापा : पाँचजना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान



बिर्तामोड–साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँचजना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरेको छ ।

साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जकहरुलाई राष्ट्रिय बालदिवसको अवसरमा शुक्रवार आयोजना गरिएको सांगीतिक काव्य सभामा दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको संस्थागत विकासमा अनरवत उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिएको बताए ।

प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्य र साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईसहित स्रष्टाहरू डिल्लीराज नेपाल, पून्यप्रसाद खरेल, हरिनारायण भट्टराई र शिक्षासेवी जयनारायण ढुङ्गानालाई सम्मान प्रदान गरिएको हो ।

संरक्षक श्रेष्ठले स्वर्गीय डिकमान विरहीप्रति श्रद्धासमुन व्यक्त गर्दै स्वागत गानबाट कार्यक्रम प्रारम्भ गरेका थिए । साहित्य चौतारीको स्वागत गीत साहित्यकार विरहीले रचना गरेका हुन् ।

यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाको अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू कृष्ण पौडेल, राजेन्द्र संग्रौला, विजय खरेल, लीला उदासी, भवानी क्षेत्री र हरिचरण बानियाँलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।

गतसाता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ‌।

साहित्य चौतारीका वरिष्ठ सल्लाहकार तथा लोक गायक अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा राईलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।

अस्वस्थ भएर घरमा स्वास्थ्य लाभ गरिरहेका बेला आर्थिक सहयोगसहित राईलाई उक्त सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक श्रेष्ठले बताए ।

चौतारीका पूर्व अध्यक्ष केशव आचार्यले तपाई हामी सबै भएका कारण साहित्य चौतारी रहेको बताए । उनले आफू उमेरले बुढो भए पनि विचारले युवा रहेको जनाउँदै युवाको पक्षमा उभिने धारणा राखे ।

कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मासिक काव्यसभाकी संयोजक सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा सम्मानित प्रतिभासहित साहित्य अच्युत घिमिरेले लगायतले बोलेका थिए ।

कार्यक्रममा संरक्षक उर्मिला विमली र सह संरक्षक गौरव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बाल प्रतिभाबीच प्रतिस्पर्धा

साहित्य चौतारीले बालदिवसको अवसरमा बाल प्रतिभाबीच पनि प्रतिस्पर्धा गराएको छ । अघिल्ला वर्षहरुमा जस्तै कविता, गीत र नृत्य विधामा चौतारीले बालप्रतिभा बीच प्रतिस्पर्धा गराएको हो ।

प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारसहित सम्मान गरिएको छ । बाल प्रतिभा दिया अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायनतर्फ अर्पण सिटौला प्रथम भएका छन् ।

प्रतियोगितामा प्रतिक्षा भट्टराई दोस्रो र सन्ध्या भट्टराई तेस्रो भएका छन् । प्रसम गुरागाईले सान्त्वना पुरस्कार जितेका छन् । नृत्यतर्फ इसिता मुखिया पहिलो, प्रेषा राई दोस्रो र साया सुवेदी तेस्रो भएका छन् ।

हरेक वर्ष बालप्रतिभा बीच भएको प्रतिस्पर्धामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने उत्कृष्ट प्रतिभालाई आगामी वर्षको कार्यक्रमका लागि साहित्य चौतारीले प्रमुख अतिथि बनाउँदै आएको छ ।

साहित्य चौतारीका कार्य समिति सदस्य जीवन जगदीश धितालले दोस्रो सत्रको कार्यक्रम सञ्चालन गरेका थिए ।

चौतारीको सभाहलमा गुञ्जिए मोतिराम र फत्तेमान

कवि मोतिराम भट्टलाई पनि साहित्य चौतारीले समरण गरेको छ । नेपाली साहित्यका प्रेरक व्यक्तित्वका रुपमा मोतिराम प्रसिद्ध छन् ।

मोतिरामसँगै कालजयी अमर सर्जक फत्तेमान राजभण्डारीलाई पनि साहित्य चौतारीले मासिक सांगीतिक काव्य सभाका अवसरमा सम्झिएको छ ।

१० औं स्मृति दिवसको अवसरमा उनका कालजयी सिर्जनाहरु सांगीतिक काव्य सभामा गुञ्जिएका हुन् । चौतारीले २०६२ सालमा फत्तेमानलाई प्रमुख अतिथि बनाएको थियो ।

त्रिकोणात्मक कार्यक्रमका बीच संरक्षकको जन्मदिन
साहित्य चौतारीले संस्थापक संरक्षक देवीभक्त श्रेष्ठको जन्मदिन पनि मनाएकोे छ । त्रिकोणात्मक कार्यक्रमका बीच संरक्षक श्रेष्ठको जन्मदिन मनाइएको हो । श्रेष्ठले शुक्रवार ६३ औँ जन्मदिन मनाएका छन् ।

कार्यक्रममा सहभागी स्रष्टा सर्जकले तीन पुस्ताका प्रतिभालाई ठाउँ दिने गरी साहित्य चौतारीमा संरक्षक श्रेष्ठले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । बालप्रतिभादेखि बुढ्यौली पुस्ताका प्रतिभाले साहित्य चौतारीमा नियमित ठाउँ पाइरहेका छन् ।

जन्मदिनले आफूलाई नयाँ उर्जा दिएको भन्दै संरक्षक श्रेष्ठले साहित्य चौतारीको फराकिलो आँगनमा अझ धेरै प्रतिभाहरु जन्मिने बताए ।

कार्यक्रममा संरक्षक श्रेष्ठले गायक फत्तेमानको ‘यस्तो पनि हुँदो रैछ’ बोलको गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । साहित्य चौतारीले फत्तेमानलाई २०६२ सालमा प्रमुख अतिथि बनाएको थियो ।

कार्यक्रममा बोल्दै संरक्षक श्रेष्ठले अग्रज स्रष्टाको सम्मानले संस्था सम्मानित महसुस भएको बताउँदै साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गर्ने सबै स्रष्टा सर्जकलाई रजत वर्षको यो अवसरमा सम्मान गर्दै लगिने बताए ।

संरक्षक श्रेष्ठले आफूलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिने सबै स्रष्टा सर्जक र शुभचिन्तकलाई हार्दिक आभारसहित धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ५ : ०५ बजे