भद्रपुर– बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले झापाको भद्रपुरमा जारी प्रथम अन्तर पालिकास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शानदार जित दर्ता गरेको छ ।
आइतवार भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको हो । जारी लिगमा आजसम्म यो नै ठूलो गोल अन्तरको जित हो ।
त्यस्तै, आजको दोस्रो खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्ति र मेचीनगरले तीनतीन अंक जोडेका छन् ।
खेलको २५ औँ, ६४ औँ, ६९ औँ र ७२ औँ मिनेटमा बुद्धशान्ति गाउँपालिकाका बबिन बोहोराले गोल गरे । बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै, खेलको ४५ औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरिता प्रसाईं, प्रमुख सल्लाहकार टीकाराज ढकाल, सौजन्यकर्ता लोकबन्धु ढुंगानाले नगद दुई हजार र ट्रफी प्रदान गरेका छन् ।
दोस्रो खेलमा मेचीनगरले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हराएको छ । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरेका छन् ।
खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भएका छन् । उनलाई गोल्डकपका अध्यक्ष ढकाल, मेचीनगरका नगरप्रमुख गोपादचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरेका छन् ।