१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडमा दुईवटा मोटरसाइकल जुध्दा माछापुछ्रे बैँकका कर्मचारीको मृत्यु



बिर्तामोड-झापाको बिर्तामोडस्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा गएराति पौने एक बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई युवा गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा झापाको कनकाई नगरपालिका ५ का २६ वर्षीय सागर घिमिरे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी हुन् ।

घटनामा भद्रपुर-१० का २६ वर्षीय सरोज बस्नेत र २८ वर्षीय सकिन न्यौपाने गम्भीर घाइते भएका छन् । बस्नेत लक्ष्मी सनराइज बैँकका कर्मचारी हुन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ५ प ५५६८ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०१-०१३ प ५१४० नम्वरको मोटरसाइकल बिर्तामोडको सञ्जीवनी अस्पताल अगाडि राजमार्गमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । अस्पताल लगिए लगत्तै चिकित्सकले घिमिरेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाका गम्भीर घाइते बस्नेत र न्यौपानेको उक्त अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ९ : २२ बजे