झापा-बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई रगत निशुल्क उपलब्ध गराउने भएको छ । वडा कार्यालय र जिल्ला रेडक्रस सोसाइटी झापाबीच शुक्रवार यस सम्वन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा वडाध्यक्ष अग्निप्रसाद पाण्डे र रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले हस्ताक्षर गरेका छन् । वडाले रगत उपलब्ध गराएवापत रेडक्रस सोसाइटी झापालाई वार्षिकरुपमा शुल्क तिर्नेछ ।
वडाले हरेक वर्ष एकलाख रुपैयाँ तिर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेकोे वडाध्यक्ष पाण्डेले बताए । अब लक्षित वर्गले एक युनिट रगत प्राप्त गर्दा लाग्ने ९५० रुपैयाँ तिर्नु पर्ने छैन् । वडाको सिफारिसका आधारमा रगत निशुल्क पाइनेछ ।
सम्झौता बैशाख महिनाको अन्तिम सातादेखि लागु हुने वडा कार्यालयले जनाएको छ । यस प्रकारको कार्यक्रम मेचीनगर, भद्रपुर, बाह्रदशी लगायतका पालिकाका वडामा लागु भएको सभापति ढकालले जानकारी दिए ।