झापा-आन्तरिक खपत घटेपछि करिब पाँच सय मेगावाट विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । दशैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको हो ।
चाड बिदाका कारण विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु अहिले बन्द छन् । तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको छ ।
सरकारी र निजी लगानीका जलविद्युत् आयोजनाबाट हाल दैनिक करिब २२ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । उत्पादितमध्ये साढे ६ सय देखि ७ सय मेगावाट विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक रुपमा पाँच सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।