धनुषा-उपचारका क्रममा महिलाको मृत्यु भएपछि जनकपुर सुरक्षा अस्पतालका चिकित्सक भागेका छन् । अस्पतालमा कार्यरत डाक्टर डरले भागेपछि विरामीलाई अन्यत्र सारेर ताला लगाइएको छ ।
डा. सरोज साहले सञ्चालन गरेको अस्पतालका सबै डाक्टर एकसाथ भागेका हुन् । घटनापछि चिकित्सकहरु अस्पताल छाडेर भागेकाले बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार दिउँसो उपचारका क्रममा मृत्यु भएको थियो । पाठेघरमा घाउ भएपछि साह अस्पताल भर्ना भएकी थिइन् ।
मृतक महिलाको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । मृतकका भाइ उदयकुमार साहले डाक्टरले अप्रेसनमा लापरबाही गर्दा दिदीको मृत्यु भएको बताए ।
पीडित परिवारले अस्पतालको गेटमा शव राखेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त भएको थियो । स्थानीय प्रशासनले अस्पताल परिसरमा बाक्लो संख्यामा प्रहरी खटाएको छ ।