२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

भद्रपुरमा उमेर समूहका खेलाडी छनोटलाई तीव्रता



चन्द्रगढी-भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेल भएको छ ।

फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्ने क्रममा मेची रंगशालामा छनोट खेल भएको हो ।

यसअघि अघिल्लो शनिबार १४ देखि १६ वर्ष उमेर समूहका खेलाडी छनोट खेल भएको थियो । उक्त खेलबाट पहिलो चरणमा ५३ जना खेलाडी छनोट भइसकेका छन् ।

भद्रपुरका सबै वडाबाट आएका करिब एकसय खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएकोमा पहिलो चरणमा ६३ जना खेलाडी छनोटमा परेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

अब दुबै उमेर समूहबाट पहिलो चरणमा छनोटमा परेका खेलाडीबीच आगामी शनिबार पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइनेछ ।

नगरभित्र कुना–कुनामा रहेका तर अवसर नपाइरहेका युवालाई अवसर प्रदान गर्ने र भद्रपुर झापा गोल्डकपको सशक्त आयोजक टिम तयार गर्ने उद्देश्यले कार्य समितिको बैठकले ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गोल्डकपका अध्यक्ष ढकालले अहिले छनोटमा परेका खेलाडी भद्रपुरको अब्बल टिम तयार गर्ने उद्देश्यले गरिएको बताउँदै समय दिनसक्ने खेलाडी मात्र सहभागी हुने बताए ।

भद्रपुर झापा गोल्डकपले आगामी मंसिर–पुसतिर झापा जिल्लास्तरीय अन्तर पालिका लिग कम नकआउट प्रतियोगिताको तयारी पनि गरिरहेको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार ००:००  ७ : २१ बजे