८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा



काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीले आइतवार साँझ राजीनामा बुझाएका छन् । सरकारलाई दिएको समर्थन जारी राख्दै रास्वपाका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका छन् ।

आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पार्टीको निर्णय लगत्तै रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । आइतवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार ००:००  ९ : २१ बजे