झापा-नेपाल विद्यार्थी संंघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । राजधानी काठमाडौँमा कांग्रेस सह महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि नेविसंघका नेता कार्यकर्ता गृहमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिएका हुन् ।
नेविसंघले काठमाडौं मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले मसाल जुलुसहित विरोध प्रदर्शन गरेका छन् ।
कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोट घर भएका ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलका अनुसार ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले यादवमाथि खुकुरी हानेका थिए । खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा सापकोटा पूर्वमन्त्रीसमेत रहेका यादवकै भाषण सुन्दै थिए ।