१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

विप्लव माओवादीद्वारा झापामा मिटरव्याजी विरुद्धको कार्वाही स्थगित



बिर्तामोड-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले झापामा मिटरव्याजी विरुद्धको कार्वाही तत्कालका लागि स्थगित गरेको छ । स्थानीय प्रशासनको आग्रहमा नेकपा माओवादीले मिटरव्याजी विरुद्धको कार्वाही रोकेको हो ।

नेकपाका मेची व्यूरो इञ्चार्ज सुमनसिंह सीले प्रशासनको आग्रहमा मिटरव्याजी विरुद्धको कार्वाही हालका लागि स्थगित गरिएको बताए । बुधवार बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै उनले असन्तुलनको स्थिति नआओस् भन्ने उद्देश्यले कार्वाही रोकिएको बताए ।

विप्लव नेतृत्वको माओवादीले आफूखुशी कानून हातमा लिएर मिटरव्याजीविरुद्ध कार्वाही गर्न थालेपछि स्थानीय प्रशासन रुष्ट भएको थियो । प्रशासनिक दवाव बढेपछि नेकपा माओवादी तत्काल कार्वाही प्रक्रियाबाट पछाडि हटेको हो ।

यद्यपि, व्यूरो इञ्चार्ज सुमनसिंह लघुवित्त, मिटरव्याजी र चर्काे बैँक व्याजदरविरुद्धको आन्दोलन नरोकिने दावी गर्छन् । प्रशासनले मिटरव्याजीविरुद्ध गर्ने कार्वाहीका विषयमा आफूहरु प्रतिक्षारत रहेको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ००:००  ७ : ०७ बजे