झापा- कम्प्युटर सफ्टवेयरको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११ औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
रजिष्टर्ड कार्यालय काठमाडौंमा रहेको उक्त कम्पनीले बिर्तामोडमा कर्पोरेट शाखा सञ्चालन गरी पूर्वका व्यवसायिक प्रतिष्ठान तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गरिरहेको छ ।
हाल नेपालका ६०० भन्दा बढी सहकारीहरुमा फिनटेक इको सिस्टमसहितको आफनो सफ्टवेयरहरु सञ्चालनमा ल्याएको कम्पनीले चेन स्टोरहरु, डिपार्टमेन्ट स्टोरहरुको लागि लेखास्त्र सफट्वेयर बिक्री गरी सेवा पुर्याउँदै आएको साधारणसभाका अवसरमा अध्यक्ष लोकप्रिय खनालले जानकारी दिए ।
कम्पनीका अध्यक्ष खनालले गत आर्थिक वर्षमा कम्पनीले हासिल गरेका उपलब्धीहरु सहितको प्रगति प्रतिवेदन एवम् आगामी आर्थिक वर्षको योजनाहरु प्रस्तुत गरेका थिए । साधारणसभामा वित्तीय तथा प्रशासनिक निर्देशक राजु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी प्राविधिक निर्देशक सुमन सापकोटाले कम्पनीले उत्पादन गरेका वित्तीय इको सिस्टमका उत्पादनहरु फिनास्त्र, लेखास्त्र, डिजिटल कलेक्सन, यातायात अस्त्र र मोवाइल बैंकिङ एप फिन स्मार्टका नवितम सुविधाहरु र नयाँ योजना बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको बन्द सत्रले अध्यक्ष खनालले राखेका प्रस्तावहरुमा कम्पनीको नयाँ भवन, आइटी पूर्वाधारमा लगानी वृद्धि गरी आगामी आर्थिक वर्षको प्रथम चौमासिक भित्रमा विशिष्ट सुविधासहितको क्लाउड सर्भिस, आइटी संरचनाहरु, कल सेन्टर एवम् झापाका विभिन्न आइटी कलेजहरुको विद्यार्थीहरुलाई नविनतम प्रविधिहरुको प्रयोगात्मक अभ्यासका लागि इन्र्टसीप कक्षाहरु सञ्चालन सहितका सुविधा थप गर्ने विषयमा निर्णयहरु पारित गरेको जनाइएको छ ।
साधारण सभाको अवसरमा उत्कृष्ट वित्तीय तथा प्रशासनिक सेवा गरेकोमा शेयर सदस्यद्वय चैतन्यप्रकाश मैनाली र दिपेश पाठकले वित्तीय निर्देशक राजु श्रेष्ठलाई ५० हजार रुपैयाँको एडमिन एक्सेलेन्स अवार्ड र प्रमाणपत्र वितरण गरेका थिए ।
अधिवेशनले लोकप्रिय खनालको अध्यक्षतामा रहेको पाँच सदस्यीय सञ्चालक समितिलाई नै थप २ वर्षको लागि सञ्चालक समितिमा निरन्तरता दिने निर्णय गरेको छ ।
साधारण सभामा शेयर सदस्य सुरज चिमरियाले बजार विस्तार सम्बन्धमा सुझावहरु प्रस्तुत गरेका थिए भने सभाको सञ्चालन सञ्चालक सदस्य भुपेन्द्र मैनालीले गरेका थिए ।