बिर्तामोड- बिर्तामोड नगरपालिकाले वडा नम्बर ९ स्थित डाँडागाउँमा रहेको कोसेली अचार उद्योगलाई ड्रम र तौल मेसिन हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले ती सामग्री हस्तान्तरण गरेको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्योगका अध्यक्ष शान्ता रिजाल लगायतलाई तीन सय लिटर क्षमताका पाँच वटा र पाँच सय लिटर क्षमताका दुई वटा गरी सात वटा प्लाष्टिकका ड्रम र एक थान तौल मेसिन हस्तान्तरण गरेकी हुन् ।
नगर प्रमुख प्रसाईले उद्यमी महिलाहरुले सञ्चालन गरेको उद्योगलाई थप व्यवसायिक बन्नका लागि प्रेरित गर्दै सामग्री हस्तान्तरण गरेको बताइन् । कोसेली अचार उद्योग स्थानीय छ जना महिलाले सञ्चालन गर्दै आएका छन् ।
उद्योगले आँप, कागती, अकबरे खुर्सानी, अचार पेष्ट लगायत उत्पादन गर्दै आएको छ । कार्यक्रममा शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारी, कार्यपालिका सदस्य संगीता सिवा लगायत महिला उद्यमीको सहभागिता रहेको थियो ।
नगरपालिकाले यसअघि जेठ १६ गते मात्रै यो कार्यक्रम अन्तर्गत १५ जना महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको थियो ।