बिर्तामोड-नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमाथि लागेका सबै आरोप छानबिन गर्न गराउन आफूहरू तयार रहेको बताएका छन् ।
नेकपा एमाले झापाले बिहिबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई समर्थन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले गल्ती गर्ने नेता कार्यकर्तालाई पार्टीले संरक्षण नगर्ने बताए । विभिन्न आरोपमा नेकपा एमालेका नेताहरू प्रहरी अनुसन्धानमा पुगेको, कतिपय नेता कार्यकर्ताले हिरासत बस्नु परेको प्रसङ्ग उल्लेख गर्दै ज्ञवालीले अदालतको फैसला नै अन्तिम हुने बताए ।

विभिन्न आरोपमा एमाले नेता कार्यकर्ता पक्राउ पर्दा आफूहरू नाराबाजीमा नउत्रिएको बरु कानुनलाई सघाएको प्रसङ्ग ज्ञवालीले सुनाए ।
‘हामीले कहीँ कतै गल्ती गरेका छैनौं । गल्ती गर्ने नेता कार्यकर्ताको संरक्षण गरेका छैनौं’, कार्यकर्ता भेलामा उनले भने, ‘पार्टीमाथि लागेका सबै आरोप छानबिन गर्न गराउन सधैँ तयार छौं ।’
एमाले विरुद्धमा यसअघि पटकपटक घेराबन्दी हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै नेता ज्ञवालीले भने, ‘जुन औँला कुहिन्छ त्यही नै झर्ने हो । हामीले गल्ती गरेका छैनौँ । हामी पवित्र छौं भन्नेमा विश्वास छ ।’
सडक अदालतबाट होइन अदालतबाट फैसला हुनुपर्छ
नेकपा एमालेका उपमहासचिव ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सडकमा गरिरहेको आन्दोलनले कुनै परिणाम नदिने बताउँछन् । गल्ती गरेको छैन भन्ने डराउनु नपर्ने बताउँदै उनले सडक अदालतबाट कुनै फैसला नहुने बताए ।
‘सडक अदालतबाट फैसला हुँदैन । फैसला अदालतबाटै हुनुपर्छ’, नेता ज्ञवालीले भने, ‘दाेषी वा निर्दोषी के हो अदालतले छुट्याउँछ ।’
जनसेवामा लाग्न निर्देशन
उपमहासचिव ज्ञवालीले जनसेवामा निरन्तर लागेकै कारण एमाले पार्टी बलियो हुँदै गएको बताए । जनताका पीरमर्का र समस्याका बीचमा सधैँ एमाले नेता कार्यकर्ता हुनुपर्ने बताउँदै उनले अनेकौँ विपत्तिका बेला पनि एमालेले जनसेवाका कामलाई निरन्तरता दिएको बताए ।