झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक अस्थिरताको मुख्य कारक काङ्ग्रेस एमाले भएको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले ठूला दलका कारण राजनीतिक स्थायित्व प्राप्त हुन नसकेको बताए ।
‘देशमा स्थिरता नहुनुमा समानुपातिक समावेशिता र साना दलहरू होइनन्’, राप्रपा अध्यक्ष लिङ्देनले संसद बैठकमा भने, ‘आवश्यक परेको बेला साना दलहरूलाई लोभ देखाएर फुटाउनुहुन्छ ।’
संसदीय अङ्क गणितले मात्रै राजनीतिक स्थिरता र स्थायित्व प्राप्त नहुने भन्दै राप्रपा अध्यक्ष लिङ्देनले यसअघि गठन भएको दुई तिहाइको कम्युनिस्ट सरकार असफल भएको इङ्गित गरे ।
विगतमा कांग्रेसले पनि एक्लै बहुमत प्राप्त गर्दा पाँच वर्ष सरकार चलाउन नसकेको भन्दै राप्रपा अध्यक्ष लिङ्देनले समस्या प्रवृत्ति र चरित्रमा भएको टिप्पणी गरे ।