बिर्तामोड-झापाको बाह्रदशी गाउँपालिका-५ फुलबारी घर भएका राजेश हजामको हत्या गरेको अभियोगमा प्रहरीले एक नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा नम्बर ७ का ३१ वर्षीय समिर राजवंशी, सोही ठाउँकी २० वर्षीया मुना मेचे र एकजना नाबालक रहेका छन् । उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
हजाम गत जेठ १५ गतेदेखि घरबाट बेपत्ता भएका थिए । छोरो बेपत्ता भएको जनाउँदै बाबु भीमले दिएको जाहेरीका आधारमा प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
बिरिङ खोलाको पश्चिम किनारमा हजामलाई गाडेको खुलेपछि प्रहरीले आरोपितहरुलाई समातेको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् ।
शरीरको सबै भाग सडे गलेको अवस्थामा हजामको अस्थिपन्जर फेला परेको प्रहरी निरीक्षक तामाङले जानकारी दिइन् । अस्थिपञ्जर परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।