१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ



काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी संस्थाको रकम अपचलनको अभियोगमा अनुसन्धानका लागि प्रहरीले केहीबेर अघि लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पूर्जी जारी भएको थियो । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ९(३) बमोजिम उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ परेका सभापति लामिछानेलाई प्रहरीले कास्की लैजाने तयारी गरेको छ । स्थलमार्गबाट उनलाई कास्की लैजान लागिएको हो ।

पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयबाट आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गरेका छन् । प्रहरीले उनलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो ।

सम्बोधनका क्रममा सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साध्न खोजिएको बताउँदै न्यायिक प्रक्रियामा सघाउन आफू सधैँ तयार रहेको धारणा व्यक्त गरेका छन् । उनले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी हविन्द्र बोगटीको नेतृत्वमा ठूलो सङ्ख्यामा पुगेको प्रहरी टोलीले सभापति लामिछानेलाई नियन्त्रणमा लिएको हाे । बोगटीले लामिछानेलाई पाखुरामा समातेर लगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको बाक्लो उपस्थितिका बीच उनी समातिएका हुन् । लामिछाने पक्राउ परिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय परिसरमा प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी सुनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले नाराबाजी गरेपनि लामिछानेलाई पक्राउ गर्ने विषयमा प्रहरीलाई कुनै असहयोग गरेनन् । बिना अवरोध प्रहरीले उनलाई समातेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ००:००  ६ : ५२ बजे