बिर्तामोड-नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उषा राउतले संघलाई सुदृढ र सशक्त बनाउन सके मात्र नेपाली कांग्रेस बलियो हुने बताएकी छन् ।
नेपाल महिला सङ्घ झापाले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राउतले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
अध्यक्ष राउतले राणाकालीन निरङ्कुशताको अन्त्यका लागि संघर्ष गरेको सङ्घलाई महिला सशक्तिकरण र क्षमता अभिवृद्धिका लागि पार्टीको साथ अपरिहार्य भएको बताइन् ।
महिला संघको विधानमा रहेका प्राविधिक त्रुटिलाई सच्याउने प्रक्रिया सुरु गरिएको जानकारी दिँदै अध्यक्ष राउतले तिहारपछि सबै तहको अधिवेशन मिति तय गरिने बताइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले महिला संघलाई सशक्त बनाउन झापामा पार्टीले सहयोग गरिरहेको बताए ।
नेपाल महिला सङ्घ झापाकी अध्यक्ष टीका सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव गीता ओडारीले गरेकी थिइन् ।