झापा-बंगलादेशलाई बिजुली बेच्ने सरकारी योजनामा भारतले अलमल गरेपछि सहमति कार्यान्वयनको सम्भावना तत्कालका लागि टरेको छ । भारतीय पक्षको सहमति आउन बाँकी रहेकाले पूर्व लक्ष्यअनुसार विद्युत् निर्यात गर्न नसकिएको हो ।
नेपाल विद्युत प्राधिकरणले भारतीय पक्षले स्वीकृत नदिएकाले विद्युत् निर्यात गर्ने योजना कार्यान्वयनमा जान नसकेको जनाएको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले स्वीकृतिका लागि समन्वय भइरहेको बताएका छन् ।
असोज १७ गते काठमाडौँमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएपनि भारतले विभागीय मन्त्रालयबाट स्वीकृति दिन आनाकानी गरेको हो । नेपालका ऊर्जामन्त्री बङ्गलादेशकी वातावरण मन्त्री र भारतीय राजदूतको उपस्थितिमा ४० मेगावाट विद्युत् निर्यात त्रिपक्षीय सम्झौता भएको थियो ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय ऊर्जा महाशाखाका प्रमुख चिरञ्जीवी चटौत भारतले बङ्गलादेश विद्युत् निर्यात गर्न रोक्नुपर्ने कुनै कारण नभएको बताउँछन् । उनले भारतीय पक्षको सहमति छिट्टै प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।