काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको दायरा बढाउन निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रिय रहेका मन्त्री पौडेलले मन्त्रालयका उपलब्धि सार्वजनिक गर्दै यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री पौडेलले बीमाको दायरा बढाएर पाँच लाख पुर्याउन र औषधिको मूल्य समायोजन पूरा गर्न मातहतका निकायलाई भनेका छन् । सरकारले अहिले १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्दै आएको छ ।
बीमाको दायरालाई बढाउनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएका मन्त्री पौडेलले स्वास्थ्य बीमा र औषधिको समायोजन जसरी पनि पूरा गर्ने बताए । उनले प्राकृतिक प्रकोप र डेङ्गुको महामारीले स्वास्थ्य क्षेत्रमा जटिलता थपेको उल्लेख गरे ।
स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर र मृगाैला रोगको उपचारका लागि बिरामी पहिचान गर्न राष्ट्रव्यापी परीक्षण सेवा सुरु गर्न लागिएको जानकारी दिए । तीन महिनाभित्र स्क्रिनिङको व्यवस्था पूरा गरी मोबाइल रिंगटोन सेवा समेत सञ्चालन हुने मन्त्री पौडेलले बताए ।