बिर्तामोड-अविरल वर्षापछिको बाढी पसेर झापाको बाह्रदशीमा एउटा कुखुरा फर्ममा क्षति पुगेको छ । बाढीका कारण बाह्रदशी बहुउद्देश्यीय कृषि फर्ममा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा रहेको उक्त फर्म स्थानीय ज्ञानबहादुर कार्कीले सञ्चालन गर्दै आएका छन् । फर्ममा सुरुङ्गा खोलाको बाढी पसेको हाे । घटनास्थलमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाको टोली खटिएको छ ।
कुखुरा खोरभित्र पुरै पानी पसेको र त्यसबाट कार्कीलाई आठ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । कार्कीको फर्ममा १६०० कुखुरा थिए । तीमध्ये १२०० कुखुरा मरिसकेका छन् ।


















