झापा-अलैँचीको मूल्य निरन्तर उकालो लागिरहे पनि उत्पादन भने घट्दो अवस्थामा छ । उत्पादन घटेका बेला अलैँचीले भने उच्च मूल्य पाइरहेको हो ।
नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार प्रतिमन अलैँचीको मूल्य १ लाख ५ हजारको हाराहारीमा छ । विश्व बजारमा माग बढ्दै जाँदा मूल्य पनि आकासिएको हो ।
अलैँची व्यवसायी इन्द्रबहादुर लिम्बू यसपटक भाउ बढेपछि किसान उत्साहित भएको बताउँछन् । समयमै भाउ बढ्ने हो भने किसानलाई नोक्सान नहुने उनको धारणा छ ।
महासङ्घका अध्यक्ष निर्मल भट्टराईका अनुसार यस अघिका तीन वर्षको तुलनामा अलैँचीको उत्पादन ४० प्रतिशतले घटेको छ । नेपालमा पाँच हजारदेखि आठ हजार मेट्रिक टनसम्म अलैँची उत्पादन हुन्छ ।
पछिल्लो दुई वर्षको तथ्याङ्कले पाँच हजारभन्दा कम उत्पादन भइरहेको देखाएको अध्यक्ष भट्टराईले बताए । सबै भन्दाबढी अलैँची ताप्लेजुङ र संखुवासभामा उत्पादन हुन्छ ।
व्यवसायीहरूका अनुसार विश्वभर उत्पादन हुनेमध्ये ६० प्रतिशत अलैँची नेपालमै फल्छ । भारत र भुटानले पनि अलैची उत्पादन गर्छन् । दुई देशको तुलनामा नेपालको उत्पादन हिस्सा उच्च छ ।
मसला र औषधि उत्पादनमा समेत अलैँचीको प्रयोग बढ्दै जाँदा विश्व बजारमा यसको माग वर्षेनि उच्च हुन्छ । पछिल्लो समय रोगको संक्रमण बढ्दै गएकाले अलैँचीको उत्पादनमा गिरावट आउँदै गएको छ ।


















