बिर्तामोड-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान झापाले खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । मङ्सिर २२ गतेबाट प्रतियोगिता सुरु हुन लागेको हिसान झापाका सचिव देवेन्द्र हुमागाईंले बताए ।
प्रतियोगितामा हिसानमा आबद्ध विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउनेछन् । हिसानमा २६ विद्यालय आबद्ध छन् । तीमध्ये २३ वटा खेलकुद प्रतियोगितामा सहभागी हुन लागेका हुन् ।
हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल खेलकुदमा विद्यार्थीको रुचि जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँछन् । विजेताले ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
हिसान झापाका कोषाध्यक्ष रन्जित साहका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको खेलतालिका अनुसार मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म भद्रपुरस्थित ग्यालेक्सी स्कुलमा पुरुष फुटबल हुनेछ ।


















