अर्जुनधारा– शिवसताक्षी नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा जारी प्रतियोगिताको आइतवार भएको पहिलो सेमिफाइनलमा शिवसताक्षी बिजयी भएको हो ।
बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको छ । शिवसताक्षीको जितमा मिलन राई नायक बनेका छन् । उनले दुई गोल गरेका छन् ।
राईले खेलको २६ औं मिनेटमा डि–एरियामा बिर्तामोडका गोलरक्षक अविशेक चौधरीले फल्ड गरेपछि पाएको पेनाल्टी प्रहारलाई गोल पोष्ट भित्रबाट जाली चुमाउँदै टिमलाई पहिलो अग्रता दिलाए । उनले खेलको ६१ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
२–० गोल अन्तरलेपछि परेको बिर्तामोडका लागि ६३ औं मिनेटमा श्याम मुर्मुले एक गोल गर्दै २–१ गोलको अन्तर बनाए । सुरुवातबाट नै आक्रमक बनेको खेलमा बिर्तामोडले गोल गर्ने थुर्पै अवसर पाएपनि स्कोर गर्न नसक्दा पराजय भोग्यो ।
शिवसताक्षीलाई फाइनलमा पुर्याउन २ गोल गरेका मिलन राई खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा लगायतले पुरस्कार प्रदान गरे ।
शिवसताक्षीले उपाधिका लागि सोमवार हुने दोस्रो सेमिफाइनलको विजेतासँग मंसिर ५ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको दोस्रो सेमिफाइनलमा भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका मैदानमा उत्रिदैछन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउनेछ ।
प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो ।