झापा-पेट्रोलियम पदार्थको खपत नघटे नेपालको व्यापार घाटा उच्च हुँदै जाने देखिएको छ । पेट्रोलियम पदार्थ आयातको पछिल्लो तथ्याङ्कले नेपालको व्यापार घाटा बढ्नुमा पेट्रोलियम खपत मुख्य कारक रहेको देखाएको हो ।
भन्सार विभागका अनुसार पहिलो चार महिनामा नेपालले साढे ४ खर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । आयात उच्च हुँदा नेपालको व्यापार घाटा वर्षेनि थामीनसक्नुको स्थितिमा पुगेको हो । चार महिनामा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात भएको छ ।
विभागका अनुसार पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कार्तिक मसान्तसम्म २९ अर्ब ४ करोड २० लाख बराबरको डिजेल आयात भएको छ ।
चार महिनामा २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल नेपाल भित्रिएको छ । १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास नेपालले आयात गरेको छ ।
पेट्रोलियम खपत बढ्दै जाँदा आयात चुलिँदै गएको हो । जसको प्रत्यक्ष असर राष्ट्रिय अर्थतन्त्रमा परिरहेको छ । सरोकारवालाहरू राज्यले पेट्रोलियम पदार्थको उपयोग घटाउनुपर्ने नीति अवलम्बन गर्नुपर्ने बताउँछन् ।