मोरङ-एमाले नेता हिक्मत कुमार कार्कीले तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको सत्ता समीकरण बनेपछि कार्कीलाई तेस्रोपटक मुख्यमन्त्री बन्ने अवसर जुरेको हो।
एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ जनाको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पद तथा गोपनीयताको सपथ गर्दै मन्त्रीमण्डलसमेत विस्तार गरेका छन् ।
बिहीबार बेलुका मुख्यमन्त्रीको शपथ ग्रहण गरे लगत्तै कार्कीले एमालेबाट राम राणा र माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई मन्त्री बनाएका हुन्। उनीहरूको मन्त्रालय भने तोकिन बाँकी छ।
शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुट्ने बताएका छन् । उनले नेकपा एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा सहभागी गराउने उल्लेख गरे ।