काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर नेता कार्यकर्ताहरू अन्योलमा छन् । निर्धारित समयमै महाधिवेशन होला कि नहोला भन्नेमा धेरै नेता कार्यकर्तालाई चिन्ता लागेको छ ।
विधान त २०८२ साल भित्रै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने हो । तर, वर्तमान नेतृत्व महाधिवेशनको कार्यतालिका बनाउन अझै तयार भइसकेको छैन । यसले झन् संशय पैदा गरेको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले समेत महाधिवेशनको मितिका विषयमा कुनै निर्णय गर्न सकेको छैन । केन्द्रीय समितिले नै मिति तय गर्न नसक्नुको पछाडि अनेक कारण छन् भन्ने नेता कार्यकर्तालाई लागेको छ ।
विधानत चार वर्षमा महाधिवेशन आयोजना गर्नुपर्छ । विशेष परिस्थितिमा एक वर्ष थप गरेर महाधिवेशन गर्न सकिन्छ । २०८२ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका कांग्रेस महामन्त्री गगन थापा यतिबेला भने मौन छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि महाधिवेशनका विषयमा खुल्न सकेका छैनन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा डाक्टर शेखर कोइरालाले मात्रै महाधिवेशनको विषय उठान गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवा अबको महाधिवेशनमा उम्मेदवार बन्न नपाउने विधानत व्यवस्था छ । त्यसैका आधारमा पनि सभापति देउवा आफ्नो कार्यकाल लम्ब्याउन चाहन्छन् ।
देउवाको चाहनामा अन्य पार्टीका पदाधिकारीले समेत मौन समर्थन गर्दै आएका छन् । जसको परिणाम कांग्रेसको महाधिवेशनको मिति तय हुन सकिरहेको छैन ।
२०८४ को आम निर्वाचनमा आफैँ टिकट वितरण गर्ने पार्टी सभापति देउवाको चाहनाले कांग्रेस महाधिवेशनको मितिलाई अझै पर धकेल्ने निश्चित भएको कांग्रेस नेता कार्यकर्ताहरूकै अनुमान छ ।