बिर्तामोड-नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा निर्माणाधीन नगर अस्पताल भवनको सोमबार स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् ।
वडाध्यक्ष मदन बुढाथोकी कार्यपालिका सदस्य यमुना आचार्य र नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल अधिकारी सहितको टोली लिएर नगर प्रमुख महताराले निर्माणाधीन भवनको अनुगमन गरेकी हुन् ।
अनुगमनपछि नगर प्रमुख प्रसाईले सम्झौताभित्रै नगर अस्पतालको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको जनाइएको छ । उनले निर्माण सामग्रीको गुणस्तरमा ध्यान दिन समेत निर्देशन दिएकी छन् ।
१५ करोड ३४ हजार ३३६ रूपैयाँकाे लागतमा नगर अस्पताल भवनको निर्माण भइरहेको हो । विभाष इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले भवन निर्माण गरिरहेको हो ।
निर्माण कम्पनीका प्रतिनिधि सोम राईका अनुसार अहिलेसम्म ३५% काम सम्पन्न भएको छ । आगामी फागुन २६ गतेसम्म निर्माण कार्य सक्नु पर्ने भए पनि समयमा सम्पन्न हुने छाँटकाँट देखिएको छैन ।
भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ सैयामा रूपान्तरण हुनेछ ।