९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

ढुवानी व्यवसायीद्वारा झापाका ट्राफिक प्रमुख न्यौपानेलाई सम्मानसहित बिदाई



बिर्तामोड– पूर्वेली ढुवानी सेवा लगायतका ढुवानी व्यवसायीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई बिदाई गरेका छन् । पूर्वेली ढुवानी सेवाको कार्यालयमा सोमबार बिहान आयोजित कार्यक्रमकाबीच प्रहरी निरीक्षक न्यौपानेलाई बिदाई गरिएको हो ।

पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री, हाम्रो ढुवानी सेवाका सञ्चालक पदम श्रेष्ठ, कोहिनुर ढुवानी सेवाका सञ्चालक हिमेश अधिकारी, पूर्वाञ्चल बेकरीका सञ्चालक प्रल्लाद अधिकारी लगायतले प्रहरी निरीक्षक न्यौपानेलाई खादा, माला, सम्मानपत्र र मायाको चिनोसहित बिदाई गरेका छन् ।

एक वर्ष अघि झापा प्रहरीको ट्राफिक कमाण्ड सम्हालेका प्रहरी निरीक्षक न्यौपानेको नेपाल प्रहरी विपत् व्यवस्थापन कार्यालय तालिम शाखा सामाखुसी सरुवा भएको छ । सरुवा भएर तोकिएको जिम्मेवारीमा जानु पूर्व उनलाई बिदाई गरिएको हो ।

प्रहरी निरीक्षक न्यौपाने सरुवा भइरहँदा झापाको ट्राफिक व्यवस्थापनको कमाण्ड सम्हाल्न प्रहरी निरीक्षक गणेश पौडेल आइपुगेका छन् । न्यौपानेको बिदाईसँगै पौडेललाई पनि स्वागत गरिएको छ ।

बिदाई मन्तव्य राख्दै प्रहरी निरीक्षक न्यौपानेले अनेक चुनौति र आरोह अवरोहका बीच आफूले झापाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने प्रयत्न गरेको बताए । उनले झापा आएर काम गर्दा आफूले थुप्रै साथी संगत कमाएको बताउँदै त्यसलाई एउटा सम्पत्तिका रुपमा ग्रहण गर्ने उल्लेख गरे ।

झापाका अग्रज पत्रकार सुब्रत न्यौपानेले सरुवा बढुवालाई नियमित प्रक्रियाका रूपमा लिनुपर्ने बताउँदै कार्यस्थलमा आपसमा गाँसिएका सम्बन्धहरू सधैं दरिलो हुनुपर्नेमा जाेड दिए ।

सहरीकरणको चपेटामा परेको बिर्तामोड सहर र त्यस वरपरको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको भन्दै पत्रकार न्यौपानेले आवश्यक कार्य योजना बनाएर ट्राफिकको नयाँ नेतृत्व अगाडि सर्नुपर्ने बताए ।

हाम्रो ढुवानी सेवाका सञ्चालक पदम श्रेष्ठ झापाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने रणनीतिसहित प्रहरी निरीक्षक न्यौपानेले चालेका कदम सकारात्मक र प्रभावकारी भएको बताउँछन् ।

‘उहाँले आफ्नो व्यवसायिक सीप र दक्षता देखाएर आपसी समन्वय र सम्पर्कका आधारमा झापाको ट्राफिक व्यवस्थापनमा रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ’, सञ्चालक श्रेष्ठले भने, ‘आगामी दिनमा नयाँ चुनौतिहरूलाई चिर्दै आफूलाई अब्बल साबित गर्ने दायित्व नयाँ इन्सपेक्टर सावकाे काँधमा आएको छ ।’

पूर्वेली ढुवानी सेवाका सञ्चालक खत्रीले व्यवसायीलाई परेका पीरमर्कामा ट्राफिक प्रहरीले सधैँ समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताउँछन् । ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतिहरूलाई साझा समस्याका रूपमा बुझ्नुपर्ने बताउँदै खत्रीले आपसी सहकार्यले मात्रै समाधान निस्किने बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ००:००  ८ : ४५ बजे