झापा-स्वदेशमा पर्याप्त मात्रामा रोजगारीको अवसर नपाएपछि गत आर्थिक वर्षमा ७ लाख भन्दाबढी युवा वैदेशिक रोजगारीमा गएका छन् ।
एक वर्षको अवधिमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि अन्तर्राष्ट्रिय श्रम बजारमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । त्यसको तुलनामा गत आर्थिक वर्षमा विदेश जाने युवाको सङ्ख्या केही घटेको छ ।
वैदेशिक रोजगार विभागका निर्देशक एवम् सूचना अधिकारी गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीका लागि युएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको बताए ।
गत आर्थिक वर्षमा १ लाख ९३ हजार ४२९ जना रोजगारीका लागि युएई गएका छन् । पछिल्ला वर्षमा युरोपेली मुलुकमा समेत रोजगारीका लागि जाने युवाको संख्या बढेको छ ।














