सतासीधाम-नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समितिले विभिन्न १२ बुँदे माग राख्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । शिवसताक्षी नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै संगठनले १२ बुँदे माग अगाडि सारेको हो ।
संगठनले राखेका माग सहितको ज्ञापनपत्र नगर प्रमुख मेगाहाङ थोप्रालाई भेटेर बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थोप्राले शिक्षकहरूले राखेका मागका सम्बन्धमा आफू सकारात्मक रहेको जनाएका छन् ।
संगठनले दरबन्दी कम भएका सामुदायिक विद्यालयमा दरबन्दी मिलानको प्रक्रिया अघि बढाउन नगरपालिकाको ध्यानाकर्षण गराएको संगठनका अध्यक्ष रमेशकुमार दाहालले बताए ।
विद्यालयमा भौतिक पूर्वाधार व्यवस्थापनका लागि प्राथमिकताका आधारमा बजेटको व्यवस्थापन गर्न र निर्माण तथा मर्मत कार्य अगाडि बढाउन पनि संगठनले माग राखेको छ ।
कतिपय विद्यालयमा खानेपानीको अभाव रहेको जनाउँदै संगठनले त्यसको व्यवस्थापन मिलाउन र विद्यालय सञ्चालन अनुदान नियमित उपलब्ध गराउन नगरपालिकासँग आग्रह गरेको छ ।
स्थानीय पाठ्यक्रम निर्माण भइसकेको जनाउँदै संगठनले शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीका हातमा पुस्तक पुग्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
संगठनले सबै विद्यालयमा कम्प्युटर शिक्षाको व्यवस्थापन गर्न, बिग्रिएका विद्युतीय हाजिरी तत्काल मर्मत गर्न, शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउन, विद्यालय कर्मचारी तथा बाल शिक्षकको सेवा सुविधा वृद्धि गर्न पनि माग राखेको छ ।