बिर्तामोड-झापाका आँखा अस्पतालमा उपचारका लागि आउने विदेशी बिरामीको संख्या र उनीहरूले गर्ने खर्चलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके जिल्लाले वर्षमा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गर्न सक्ने अनुसन्धानले देखाएको छ ।
अहिले नै ठूलो संख्यामा विदेशी बिरामी उपचारका लागि झापा आइरहे पनि त्यसलाई स्वास्थ्य पर्यटनको योजनाबद्ध कार्यक्रमका रूपमा विकास गर्न भने नसकिएको अध्ययनको निष्कर्ष छ ।
त्रिदेव बहुमुखी क्याम्पसकी सहप्राध्यापक सावित्रा दाहाल भट्टराईले गरेको अनुसन्धानअनुसार झापाका पाँच प्रमुख आँखा अस्पतालमा दैनिक औसत १ हजार २ सय ८५ बिरामी उपचारका लागि पुग्छन् । तीमध्ये करिब ६ सय ४३ विदेशी नागरिक छन् ।
मेची आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, विराटज्योति आँखा अस्पताल र काँकडभिट्टा आई केयर सेन्टरलाई अध्ययनको आधार बनाइएको हो ।
अस्पतालमा आउने विदेशी बिरामीको संख्या, उपचारसँग सम्बन्धित खर्च तथा उनीहरू र आफन्तले गर्ने अन्य आर्थिक गतिविधिलाई आधार बनाएर अनुसन्धानले वार्षिक २ अर्ब ६३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिन सक्ने अनुमान गरेको हो ।
यो रकम अस्पतालमा हुने उपचार खर्चमा मात्र सीमित छैन । बिरामी र उनका आफन्तको बसाइ, खाना, यातायात, औषधि, चश्मा तथा अन्य सेवामा हुने खर्चले स्थानीय अर्थतन्त्रमा थप गतिविधि सिर्जना गर्ने अध्ययनको निष्कर्ष छ ।
सीमा नजिकको अस्पताल, बाहिरको ठूलो बजार
झापाको सबैभन्दा ठूलो सम्भावना यसको भूगोलसँग जोडिएको छ । भारतसँग खुला सीमा, बंगलादेशसँगको निकटता र भुटानसम्मको सहज पहुँचका कारण झापा दक्षिण एसियाली बिरामीका लागि उपचारको गन्तव्य बन्न सक्ने अनुसन्धानले देखाएको छ ।
विशेषगरी सीमावर्ती भारतीय क्षेत्रमा आँखासम्बन्धी उपचारका लागि झापाका अस्पतालप्रति आकर्षण बढिरहेको अध्ययनमा उल्लेख छ । यसलाई व्यवस्थित प्रचार र सेवासँग जोड्न सके भारतमा मात्र नभई बंगलादेश र भुटानसम्मका बिरामी आकर्षित गर्न सकिने सम्भावना देखिएको छ ।
अहिले विदेशी बिरामी उपचार गरेर फर्किरहेका छन् । तर, उनीहरूको झापा बसाइलाई पर्यटनसँग जोड्ने संरचना भने कमजोर छ । उपचारपछि बिरामी तथा आफन्तलाई कनकाई, अर्जुनधारा, सताक्षीधाम, दोमुखा, बाहुनडाँगीलगायतका गन्तव्यसम्म पुर्याउने प्याकेज विकास गर्न सकिने सम्भावना पनि छलफलमा उठेको छ ।
अस्पतालबाट रोजगारीसम्म
नेत्र उपचारको विस्तारले अस्पतालमा मात्र होइन, त्यससँग जोडिएका अन्य क्षेत्रमा पनि रोजगारी र व्यवसाय सिर्जना गरेको अध्ययनले देखाएको छ ।
अनुसन्धानअनुसार झापाको नेत्र उपचार क्षेत्रले प्रत्यक्ष रूपमा करिब ६ सय र अप्रत्यक्ष रूपमा एक हजारभन्दा बढीलाई रोजगारी दिएको छ । विदेशी बिरामीको संख्या बढ्दै गएमा होटल, रेस्टुरेन्ट, यातायात, औषधि, चश्मा तथा अन्य सेवा क्षेत्रमा यसको प्रभाव थप विस्तार हुन सक्ने देखिन्छ ।
यसलाई स्वास्थ्य सेवा उद्योगभन्दा माथि उठाएर स्वास्थ्य पर्यटनको संरचनामा विकास गर्न सके जिल्लाको अर्थतन्त्रमा नयाँ क्षेत्र थपिन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ ।
उपचारसँगै नेत्र शिक्षा
अनुसन्धानले झापामा नेत्र उपचारको सम्भावनासँगै नेत्र शिक्षाको आवश्यकता पनि औंल्याएको छ ।
अप्टोमेट्री, नेत्र नर्सिङ, भिजन साइन्सलगायतका विषय अध्ययन–अध्यापन गराउने शैक्षिक संस्था स्थापना गर्न सके उपचारका लागि आउने बिरामीसँगै दक्ष जनशक्ति उत्पादनको केन्द्रका रूपमा समेत झापालाई विकास गर्न सकिने अध्ययनले देखाएको छ ।
यसका लागि अस्पताल, विश्वविद्यालय तथा शैक्षिक संस्थाबिच सहकार्य आवश्यक हुने अनुसन्धानमा उल्लेख छ ।
सम्भावना ठूलो, तयारी कमजोर
झापामा नेत्र पर्यटनको सम्भावना देखिए पनि त्यसका लागि आवश्यक पूर्वाधार र नीतिगत तयारी भने कमजोर रहेको अध्ययनले औंल्याएको छ ।
आधुनिक स्वास्थ्य पूर्वाधारको कमी, अन्तर्राष्ट्रिय प्रचार-प्रसारको अभाव, नीतिगत अस्पष्टता तथा विदेशी बिरामीलाई लक्षित गरेर विकास गर्नुपर्ने बिरामीमैत्री सेवाको कमीलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।
विदेशी बिरामीलाई लक्षित सूचना केन्द्र, बहुभाषिक सेवा, सहज यातायात, होटल तथा अस्पतालबीच समन्वय, उपचारपछि घुमफिरका प्याकेज र अन्तर्राष्ट्रियस्तरको प्रचार-प्रसार गर्न सके झापाले स्वास्थ्य पर्यटनमा नयाँ बजार लिन सक्ने देखिन्छ ।
‘झापा भिजन’बाट सुरुआत गर्ने प्रस्ताव
नेत्र उपचारलाई पर्यटन र शिक्षासँग जोडेर ‘झापा भिजन’ अवधारणामार्फत जिल्लालाई अन्तर्राष्ट्रिय नेत्र उपचार गन्तव्यका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ ।
यही अवधारणामाथि नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडमा सरोकारवालाबिच बृहत् छलफलसमेत भएको छ । त्रिभुवन विश्वविद्यालयका आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक अर्जुनकुमार बरालको प्रमुख आतिथ्यमा छलफल भएको हो ।
कार्यक्रममा अनुसन्धानकर्ता दाहालले आफ्नो अध्ययन प्रस्तुत गर्दै झापामा नेत्र पर्यटन र नेत्र शिक्षाको सम्भावना औंल्याइन् । सहभागीहरूले जिल्लामा रहेका आँखा अस्पतालको क्षमता, विदेशी बिरामीको आगमन र भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
छलफलमा डा. राजेन्द्र अधिकारी, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारामणि सापकोटा, मेची आँखा अस्पतालका सञ्चालक सदस्य गणेश पोखरेल, बिर्तामोड आँखा अस्पतालका चिकित्सक डा. विनोद दाहाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने तथा चलचित्र पत्रकार संघका अध्यक्ष एकराज प्रधानलगायतले अवधारणालाई कार्यान्वयनमा लैजान आवश्यक पहल र सरोकारवालाबिच सहकार्यबारे धारणा राखे ।
छलफलबाट प्राप्त सुझावको सारांश पत्रकार ज्ञानेन्द्र निरौलाले प्रस्तुत गरेका थिए । नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न आँखा अस्पतालका चिकित्सक, कलेजका प्राध्यापक तथा सञ्चारकर्मी सहभागी थिए ।
झापामा अहिले नै उपचारका लागि विदेशी बिरामी आइरहेका छन् । अनुसन्धानले त्यसलाई संख्या र आर्थिक सम्भावनाको तथ्यसँग जोडेको छ । अबको चुनौती भनेको ती बिरामीलाई केवल अस्पतालसम्म सीमित नराखी उपचार, पर्यटन र शिक्षाको एउटै संरचनामा जोड्नु हो ।
कार्यक्रमको सहजीकरण नारी सञ्चार गृहकी सचिव दीपा पोखरेल र पूर्वसचिव मायामितु न्यौपानेले गरेका थिए भने उपाध्यक्ष ज्योस्ना श्रेष्ठले स्वागत गरेकी थिइन् ।


















