झापा– बाह्रदशी गाउँपालिका-४ स्थित जनविकास माध्यमिक विद्यालयले स्थापना भएको ५५ वर्षपछि पहिलोपटक संस्थापक र जग्गादातालाई मरणोपरान्त सम्मान गरेको छ ।
२०११ सालमा स्थापित विद्यालयले बिहीबार विशेष समारोह आयोजना गर्दै संस्थापक र जग्गादाताका परिवारलाई सम्मानपत्र तथा दोसल्ला प्रदान गरेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष महताव आलम प्रमुख अतिथि थिए। कार्यक्रममा विद्यालयले संस्थापक तथा जग्गादाताको नामावलीसहितको शिलालेख अनावरण गर्नुका साथै उनीहरूको तस्बिर विद्यालय कार्यालयमा राखेर योगदानको स्थायी अभिलेखीकरण गरेको छ ।
प्रधानाध्यापक शिव पोखरेलले विद्यालयको शैक्षिक सुधारलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गर्दै २०८० सालको एसईई परीक्षामा शून्य नतिजा आएको विद्यालयले २०८१ मा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत उत्तीर्ण गराउन सफल भएको जानकारी दिए ।आगामी वर्ष एसईईमा ५६ प्रतिशत नतिजा पुर्याउने लक्ष्य रहेको उनको भनाइ थियो ।
हाल ५५६ विद्यार्थी अध्ययनरत रहेको र करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको उल्लेख गर्दै उनले पाँच वर्षभित्र विद्यालयलाई बाह्रदशी गाउँपालिकाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउने तथा प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालन गर्ने योजना सुनाए ।
कार्यक्रममा स्वर्गीय बुल्ला मिया, लक्ष्मीदेवी गणेश, लिला गणेश, कालीप्रसाद गणेश तथा संस्थापक प्रधानाध्यापक स्वर्गीय प्रेमानन्द गोस्वामीलाई मरणोपरान्त सम्मान गरिएको थियो । साथै जग्गादाता रेनुका देवी गनगाई र ठण्डाकुमारी गणेशलाई पनि सम्मान गरिएको थियो ।
एसईईमा उत्कृष्ट नतिजा ल्याएकी आफ्रिम निसा र कक्षा ८ मा उत्कृष्ट भएकी जानकी शर्मालाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरियो। कार्यक्रममा मुस्लिम समुदायका छात्राहरूले मौलिक सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
समारोहमा बोल्ने वक्ताहरूले विद्यालयले दशकौंपछि संस्थापक र जग्गादाताको सम्मान गरेर सकारात्मक परम्पराको सुरुआत गरेको भन्दै प्रशंसा गरे । उनीहरूले विद्यालयको सम्पूर्ण जग्गाको अभिलेखीकरण गरी दाताहरूको पूर्ण विवरण संरक्षण गर्न सुझाव दिएका थिए ।
साथै हालै गाउँपालिकाले गरेको नयाँ प्रधानाध्यापक नियुक्तिका कारण प्रधानाध्यापक पोखरेल अन्यत्र जाने सम्भावना रहेको उल्लेख गर्दै, उनको नेतृत्वमा विद्यालयले शैक्षिक सुधारको गति समातेको भन्दै काजमै भए पनि जनविकास माविमै निरन्तरता दिन गाउँपालिकासँग आग्रह गरेका थिए ।
शिक्षिका धनमाया नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक टीका गणेशले गरेका थिए ।


















